News and Declaration
News and Declaration
विश्व सामाजिक मञ्चको १६औं विश्व भेला नेपालमा हुँदै

काठमाडौं– ‘अर्को विश्व सम्भव छ’ भन्ने नाराका साथ आगामी फागुन ३ देखि ७ सम्म  काठमाडौंमा विश्व सामाजिक मञ्चको भेला हुन लागेको छ। उक्त विश्व भेला नेपालमा पहिलो पटक हुन लागेको हो  

 

1140x725

 

 

विश्व सामाजिक मञ्च नेपाल आयोजक समितिले बुधबार काठमाडौंमा एक कार्यक्रम गरेर सो जानकारी दिएको हो।

मञ्चको उद्घाटन समारोह फागुन ३ गते काठमाडौंको खुलामञ्चमा हुनेछ। यसैगरी फागुन ४ देखि ६ गतेसम्म विभिन्न विषयगत सम्मेलन र समानान्तर सत्रहरु आयोजना हुनेछन्। फागुन ५ गते अन्तरमहादेशीय युवा मञ्च हुने छ भने संसदीय मञ्चको पनि आयोजना हुनेछ।

बुधबार हाइब्रिड मोडलबाट गरिएको घोषणा कार्यक्रममा विश्व सामाजिक मञ्चको महत्त्व र प्रक्रियाका बारेमा विभिन्न महादेशका प्रतिनिधिहरुले बोलेका थिए। उनीहरुले नेपालमा हुने कार्यक्रमको सफलताको शुभकामना दिँदै ऐक्यबद्धतासमेत प्रकट गरेका थिए।

जवाहरलाल नेहरु विश्वविद्यालयका पूर्व प्राध्यापक आनन्द कुमारले गएको २० वर्षमा संसार अरु बढी असमान भएको र गरिब तथा मजदुरहरुमाथिको अन्याय बढ्दै गएको बताए।

 

 

 

‘अहिले गरिबी हैन, आम जनताकाविरुद्ध युद्ध सुरु गरिएको छ। संसारभरि पर्यावरण विनाश तीव्र गतिमा भैरहेको छ,’ उनले भने। उनले स्वीस सहर डाभोसमा गरिने छलफलले संसारका समस्याहरुको समाधान दिन नसक्ने भएकाले विश्व सामाजिक मञ्चमा आफूहरुले छलफल सुरु गर्नुपरेको बताए।

 

328e21e2-584b-4f0c-88e8-24f891ca4d0a1696498993.JPG

 

‘एउटा राम्रो विश्व, एउटा वैकल्पिक विश्व निर्माणका लागि छलफल गर्न संसारभरिबाट प्रतिनिधिहरु विश्व सामाजिक मञ्चमा भेला हुन लागेका हुन्,’ उनले भने।

कार्यक्रममा डा उद्धव प्याकुरेल (नेपाल), हमुदा सउवी (मोरक्को), गुस्ताव मसिह (फ्रान्स), मर्को (फिनल्यान्ड), युसेप हावोच (प्यालेस्टाइन), कोराजन (फिलिपिन्स), भुवन पाठक (भारत) लगायतका वक्ताले अल्पविकसित मुलुकहरुको बढ्दो ऋण भार, जलवायु परिवर्तनले निम्त्याएको विध्वंश लगायतका समस्याका बारेमा बोल्दै विश्व सामाजिक मञ्चले नयाँ विश्व बनाउनका लागि गम्भीर बहस सिर्जना गर्ने बताए।

विश्व सामाजिक मञ्च नवउदारवादको विकल्पमा विचार र अनुभवको आदान प्रदान गर्ने स्वतन्त्र खुला मञ्च हो। नवउदारवादी विश्वव्यापीकरणले पारेको विनाशकारी प्रभावको विकल्पका बारेमा गम्भीर बहस गर्ने सिलसिलामा सन् २००१ मा ब्राजिलको पोर्तो एलेग्रेमा पहिलोपटक विश्व सामाजिक मञ्च आयोजना गरिएको थियो।

यसले नवउदारवाद, भूमण्डलीकृत पुँजिवाद, जलवायु संकट, पितृसत्ता, जाति तथा रंगभेद, नश्लभेद एवं लैंगिक तथा यौनिक अल्पसंख्यक समुदायविरुद्ध हुने हिंसा, विभेद, द्वेषकाविरुद्धमा एकजुट भएर गरिने विश्वभरका आन्दोलन र नागरिक समाजका संगठनहरुको सामूहिक शक्तिलाई प्रतिनिधित्व गर्दछ।

सम्मेलनमा छलफलका लागि १३ वटा समसामयिक विषयहरु छनोट गरिएको छ। आर्थिक असमानता र आर्थिक न्याय: श्रम, आप्रवासन, दासत्व र मानव बेचविखन: जात, काम र वंशमा आधारित भेदभाव, जाति, जातीयता, आदिवासी, छुवाछूत र सबै प्रकारका भेदभाव: लिङ्ग, लैङ्गिकता, लैंगिक हिंसा र पहिचान: भूमि, कृषि, खाद्य सम्प्रभुता, पारिस्थितिकीय कृषि, उर्जा र प्राकृतिक स्रोत: शान्ति, द्वन्द्व, युद्ध, अधिग्रहण, विस्थापन र सुरक्षा: शिक्षा, कला र संस्कृति, संचार, सामाजिक सञ्जाल र मिडिया, डिजिटल समानता: लोकतन्त्र, मानवअधिकार, अधिनायकवाद, कानुन र न्याय: स्वास्थ्य, सामाजिक संरक्षण र समानता: जलवायु, पर्यावरण, न्यायोचित रुपान्तरण, वासस्थान र दिगो विकास: महिला, बालबालिका, युवा, बृद्धबृद्धा र अपाङ्गता भएका व्यक्तिहरू र सामाजिक आन्दोलन, नागरिकको स्थान र विश्व सामाजिक मञ्चको भविष्य जस्ता विषयमा केन्द्रित भएर करिब ९ सय सत्रहरु सञ्चालन हुनेछन्।

स्रोत- https://nepallive.com/story/316084?fbclid=IwAR3JPInIQnHjV2gZXg-apH9IXwwwmOF5hh0LY-6l5h1Cu2Dg2T8rosKxqpU